जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईदैं,छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १० वर्ष बित्दा पनि भेदभाव कायमै,
काठमाडौं, २१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको छ । आज केन्द्रसंगै ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दिवस मनाईंदैछ । सरकारले प्रधानमन्त्रीको नेतृत्वमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन कार्यान्वयन गर्न समिति गठन गर्ने घोषणा आगामी आर्थिक वर्षको बजेट मार्फत गरेको छ ।
दिवसको अवसरमा सन्देश दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसले जातीय भेदभाव तथा छुवाछूत अन्त्यको सामाजिक जागरण सिर्जना गर्न प्रेरणा प्राप्त हुने र सबै नेपालीमा समभावको प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । जातीय छुवाछुतको अन्त्य गर्न राष्ट्रिय दलित आयोगलाई संवैधानिक अगको मान्यता दिईएको, दलित अधिकारका मुद्धालाई संविधानमा मौलिक हकका रुपमा सम्बोधन गरिएको जस्ता विषयलाई स्मरण गर्दै प्रधानमन्त्रीले यसबाट दलित समुदाय माथि भएका उत्पीडन क्रमशःअन्त्य हुँदै जाने आधार निर्माण हुने बताउनुभएको छ ।
.jpg)
नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १० वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो ।


